काठमाडौं । काठमाडौँको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले आज उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।

साउन ८ गते ओखलढुंगाकी एक युवतीमाथी मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए । उनीहरुलाई प्रहरीले त्यहि रात पक्राउ गरेको थियो।

उक्त मुद्दामा आज सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णजंग शाहले पीडितलाई २ लाख रुपैयाँ तत्काल उपलब्ध गराउन आदेश दिनुभएको छ ।

त्यसका लागि राहत कोषबाट रकम उपलब्ध गराउन भनिएको छ । एसिड आक्रमणमा परेकी युवतीको तर्फबाट एक सय जना कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए ।

ती मध्ये १० जनाले अदालतमा वहस गरेका थिए । पीडितको उपचारका लागि क्षतिपूर्ति तथा राहतकोषबाट २ लाख रुपैयाँ राहत तत्काल उपलब्ध गराउने फैसला भएको छ ।