काँकडभिट्टा — झापा गाउँपालिका–३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागी घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो । 

इस्लाम धर्माबलम्बीको बाहुल्य रहेको कामाटोलीमा बुधबार स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । गोली लागि सख्त घाइते भएका ३८ वर्षिय आलमलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्‍याइएको थियो । अस्पताल व्यवस्थापनले पनि उनको मृत्यु भएको पुष्टि गरेको छ ।

झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । गोली लागि कामाटोलीका ३८ वर्षिय रसिकुल आलम सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ ।

गोरु काटेको खबर पाएपछि प्रहरी टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयवासीले आक्रमण गरेका सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।

घटनामा सशस्त्र प्रहरीका एक जवान गम्भीर घाइते भएको उनले बताए । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।

स्थानीयसँगको झडप भएपछि थप मद्दतका लागि सशस्त्र प्रहरी टोली घटनास्थल पुगेको थियो । सयौंको संख्यामा स्थानीयहरुले टायर बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।