काठमाडौ उपत्यकामा गत बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिने भएको छ । कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिनका लागि जारी गरिएको निषेधाज्ञाको थप आवश्यकता महसुस गरिएकाले समयावधि थप गरिने भएको हो ।

सरोकारवालाहरुका बीचमा हिजो भएको छलफलले अवस्था थप जटिलता तर्फ उन्मुख भएको ठहर गर्दै निषेधाज्ञा थप्नु पर्ने निश्कर्ष निकालेका थिए । उनीहरुको सुझाव र निश्कर्ष, निषेधाज्ञाको अहिलेसम्मको अवस्था र यसको आवश्यकताका बारेमा समिक्षा गर्न र निषेधाज्ञाको म्याद थप्ने वा नथप्ने भन्ने बारेमा निर्णय गर्न काठमाडौ उपत्यका भित्र पर्ने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन प्रमुखहरुको बैठक आज बस्न लागेको छ ।

भोली १० गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको अवधि बढाउने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । उनीहरुले आजै उपत्यकाभित्रका स्थानीय तहका पदाधिकारीहरुसँग पनि संयुक्त रूपमा छलफल गर्ने तयारी गरेका छन् ।

उपत्यका नगरपालिका फोरमले भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गर्दै निषेधाज्ञा थप गर्नुपर्ने सिफारिस पनि यसअघि नै गरिसकेका छन् ।

फोरमको सिफारिस आज बस्ने प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा पेस गरिने काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
ललितपुर र भक्तपुरमा पनि सरोकारवाला तथा विज्ञहरुले निषेधाज्ञा थप गर्नुपर्ने सुझाव दिएका छन् ।

अघिल्लो हप्ताको बुधबार मध्यरातीदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा भोली बुधबार मध्यरातीदेखि सकिन लागेको छ । निषेधाज्ञाले सङ्क्रमण थप फैलिन नदिन सहयोग गरेको तर खुल्ला गरेमा यो बृद्धिदर अत्यधिक धेरै हुने खतरा रहेको उनीहरुले निश्कर्ष निकालेका छन् ।

निषेधाज्ञा कार्यान्वयन गराउने स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरुले निषेधाज्ञाको पर्याप्त कार्यान्वयन नभएकाले अझ कडाई गर्नुपर्नेमा जोड दिएका छन् ।