काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको जानकारी दिनुभयो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् ।

मोरङका ५६ र ६५ वर्षीया दुईजना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी, उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

हालसम्म विश्वभर कोरोना भाइरसबाट २ करोड ४६ लाख ६१ हजार ९ सय ८५ जना संक्रमित भएका छन् भने ८ लाख ३६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, १ करोड ७१ लाख १७ हजार ८५० जना निको भएर घर फर्किएका छन् । भारतमा ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६१ हजार ७२५ भन्दा धेरैको मृत्यु भएको छ ।

विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ६० लाख ४८ हजार ३१७ पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ८०३ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ संक्रमित भएकोमा १ लाख १८ हजार ७२६ जनाले ज्यान गुमाएका छन् ।