जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले २ वर्षभन्दा कम समयमै विश्वले कोरोना भाइरसको महामारीबाट छुटकारा पाउने सम्भावना रहेको बताएको छ । शुक्रबार जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको महामारी ‘स्पेनिस फ्लू’ को महामारीभन्दा छिटो नियन्त्रणमा आउने बताएका हुन

महानिर्देशक गेहब्रेयससले अहिलेको आधुनिक प्रविधिका कारण भाइरसको नियन्त्रण छिटो हुनेमा आफू आशावादी रहेको बताए । ‘विश्वव्यापीकरणका कारण भाइरस तीव्र रुपमा फैलिने सम्भावना अवश्य छ तर त्यसैगरी हामीसँग भएका प्रविधि र ज्ञानले यसलाई रोक्न सकिनेछ,’ उनले भने, ‘तर यसका लागि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धताको आवश्यकता पर्छ ।’

सन् १९१८ को स्पेनिस फ्लूका कारण करिब ५ करोड मानिसको मृत्यु भएको थियो । त्यसको करिब आधा त भारतमै मृत्यु भएको थियो ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म विश्वभर ७ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ ।

महामारीका बेला भ्रष्टाचार गर्ने अपराधी हुन्

महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको पनि डाक्टर टेड्रोसले बताए । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उनले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह नै हो । पीपीई नभए स्वास्थ्यकर्मीको ज्यान र उनीहरुले सेवा दिने नागरिककै ज्यान जोखिममा पर्न सक्छ ।’

डाक्टर ट्रेडोसलाई दक्षिण अफ्रिकामा स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारका विषयमा प्रश्न सोधिएको भए पनि पछिल्लो पटक थुपै देशमा उस्तै समस्या देखिएको छ । शुक्रबार मात्रै केन्याको राजधानी नैरोबीमा भ्रष्टाचार र स्वास्थ्यर्मीले पारिश्रमिक नपाएको तथा पीपीई नपाएको भन्दै प्रदर्शन भएको थियो ।