चीन, रूस र बेलायतमा निर्मित खोपको क्लिनिकल ट्रायलका लागि औपचारिक रुपमै र भारतमा निर्मित खोपबारे अनौपचारिक छलफल

काठमाडौँ — अन्य मुलुकमा निर्मित कोरोना खोपको अन्तिम चरणको परीक्षणमा नेपाल सहभागी हुने भएको छ । अन्तर्राष्ट्रिय ‘क्लिनिकल ट्रायल’ को अभ्यासअनुसार सहभागी हुन सरकारले प्रक्रिया अघि बढाइसकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार अन्तिम चरण (थर्ड फेज) मा रहेका चीन, रुस र बेलायतमा निर्मित खोपको क्लिनिकल ट्रायलका लागि औपचारिक रूपमै र भारतमा निर्मित खोपबारे अनौपचारिक छलफल भइरहेको छ ।

खोपको परीक्षण प्रक्रिया अघि बढाउन चीन, रुस र बेलायतसँग परिषद्ले नै सुरुवाती छलफल गरिरहेको छ । ती खोपको क्लिनिकल ट्रायल हुँदा नेपालका लागि समेत अध्ययन/अनुसन्धान गर्ने बाटो खुल्नेछ । स्वास्थ्य मन्त्रालयले परीक्षण हुने खोपको अध्ययनका लागि परिषद्लाई स्वीकृति दिइसकेको छ ।

चीनले उसकै लगानीमा यहाँ सञ्चालित होङसी शिवम् सिमेन्ट प्रालि कम्पनीमा कार्यरत एक हजार जनामा खोपको परीक्षणका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको छ । ‘हामी होङसी कम्पनीसँग थप छलफल गर्छौं,’ परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने, ‘खोपको मूल्यांकन गरेर त्यहाँको वैज्ञानिक समूहसँगसमेत कुराकानी गर्नेछौं ।’ चीनले सिनोभाक बायोटक लिमिटेडले तयार पारेको खोप परीक्षण गर्न नेपालसँग अनुमति मागेको हो । ‘वैज्ञानिक हिसाब हेरेर क्लिनिकल ट्रायल गर्न दिने/नदिने निर्णय गर्छौं,’ डा. ज्ञवालीले भने । उनका अनुसार यो विषयमा चिनियाँ खोप निर्मातासँग एक/दुई दिनमै थप कुराकानी हुनेछ ।

रुसले पनि आफूले निर्माण गरेको खोप सहयोग गर्नेबारे स्वास्थ्य अनुसन्धान परिषद्सँग छलफल गरेको छ । ‘आज (सोमबार) रुसका राजदूतज्यूसँग यो विषयमा कुराकानी भयो,’ डा. ज्ञवालीले भने, ‘स्वास्थ्य मन्त्रालयमा समेत प्रस्ताव आएको रहेछ । राजदूतले नेपालमा हामीलाई के सहयोग गर्नुपर्‍यो भन्नुभएको छ ।’ परिषद्ले सोमबारै रुसका राजदूत एलेक्सी नोभिकभलाई आधिकारिक रूपमा खोप परीक्षणका लागि पत्र दिएको छ, जसमा रुसमा निर्मित खोपको नेपालमा ‘क्लिनिकल ट्रायल’ गर्न आग्रह गरिएको छ ।

आफ्नो देशमा निर्मित स्पुत्निक–५ नामको खोपलाई रुस सरकारले स्वीकृति दिइसकेको छ । यो खोप त्यहाँको स्वास्थ्य मन्त्रालयमा अगस्ट ११ मा दर्ता भएको हो । यो खोपलाई तेस्रा चरणको परीक्षण नभई लगाउन अनुमति दिएको भनेर पनि कतिपयले टिप्पणी गरिरहेका छन् । नेपालमा भने परीक्षणका लागि भित्र्याउन खोजिएको छ । ‘रुसले आफ्नो खोप प्रयोगमा आइसकेको भनेको छ तर हामी खोप कस्तो छ, त्यसबारेसमेत हेर्नेछौं,’ परिषद्का सदस्य सचिव डा. ज्ञवालीले भने ।

रुसी पक्ष नेपालसँग काम गर्न इच्छुक देखिएकाले यताबाट जुनसुकै प्रस्ताव गर्दा स्वीकृत हुने अवस्था देखिएको छ । खोपको प्रयोगलाई कसरी अगाडि बढाउने भन्नेमा रुसका वैज्ञानिक समूहसँग कुरा गर्ने तयारीमा स्वास्थ्य अनुसन्धान परिषद् छ । रुसले तयार गरेको खोपको केही मात्रा (भाइल) ल्याएर उत्पादनको सम्भावनाबारे पनि अनुसन्धान गर्ने परिषद्ले जनाएको छ ।

यस्तै, अक्सफोर्ड विश्वविद्यालय र अर्को कम्पनीले तयार गरेको खोपबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा त्यहाँका मुख्य अनुसन्धानकर्ता, वैज्ञानिक समूहसँग परिषद्ले कुराकानी गरेको डा. ज्ञवालीले जानकारी दिए । ‘अक्सफोर्डको समूह सहकार्य गर्न इच्छुक देखिएको छ,’ उनले भने, ‘हामीले क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बतायौं । अरू देशमा झैं क्लिनिकल ट्रायल गर्न हामीलाई पनि अनुमति एवं खोप दिन भन्यौं ।’ खोप परीक्षण गर्ने विषयमा परिषद्ले अक्सफोर्ड विश्वविद्यालयलाई आधिकारिक रूपमा पत्र पठाइसकेको छ । अक्सफोर्डले त्यसको प्रतिउत्तर भने दिन बाँकी छ ।

हाल विश्वमा ७ थरी खोप क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेको र तीमध्ये तीनवटा कम्पनीसँग सहमति गर्ने पुग्ने प्रयासमा आफूहरू रहेको डा. ज्ञवालीले बताए । भारतमा निर्माण भएको खोपको परीक्षणबारे अनौपचारिक कुराकानी भएको डा. ज्ञवालीले बताए । नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार कोभिड–१९ विरुद्घको खोप भारतमा उत्पादन हुनासाथ पहिलो खेपमै उपलब्ध गराउन नेपालले अनौपचारिक रूपमा अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १५ अगस्टमा भएको टेलिफोन वार्तामा समेत कोरोनाविरुद्घको खोपको प्रसंग उठेको थियो । ओलीले भारतमा निर्माण भएको खोपले चाँडै सफलता पाउने विश्वाससमेत व्यक्त गरेका थिए । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार हाल सरकार स्वास्थ्य अनुसन्धान परिषद्मार्फत कोरोनाको खोप फास्ट ट्र्याकमा ल्याउने प्रयासमा छ ।

परीक्षणमा रहेका खोप लगाए मानिसले कोरोनाविरुद्घ प्रतिरोधक क्षमता प्राप्त गर्ने बताइएको छ । परीक्षण चरणमा मानिसले स्वेच्छाले खोप लगाउने डा. ज्ञवालीले बताए । ‘खोपले शरीरमा कोभिडविरुद्घको एन्टिबडी जीवनभरिका लागि वा केही समयका लागि तयार हुन्छ भन्नेबारे परीक्षणपछि मात्र थाहा हुन्छ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले खोपको क्लिनिकल ट्रायल यहाँ हुनुलाई सकारात्मक मान्नुपर्ने बताए । ‘भोलि खोप सफल भयो भने हामीले पनि विश्व स्वास्थ्यलाई योगदान गरेका थियौं भन्न सकिन्छ,’ उनले भने । डा. मरासिनीले वैज्ञानिक रूपले सबैभन्दा कम ‘साइड इफेक्ट’ भएको, हालसम्मको ट्रायलमा सबैभन्दा राम्रो नतिजा प्राप्त भएको, सुलभ हुने र डब्लूएचओको सहमति प्राप्त खोपको ट्रायलमा मात्र सहभागी हुनुपर्ने बताए । ईडीसीडीका अर्का पूर्वनिर्देशक डा. जीडी ठाकुरले आगामी डिसेम्बरसम्म कोभिडविरुद्घको खोप बजारमा आउने प्रबल सम्भावना रहेको बताए । ‘कुनै पनि खोप बजारमा आएपछि उपयोग गर्नु नै सबैभन्दा राम्रो हुन्छ,’ उनले भने ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहेनम घेबरेयेससले एक साताअघि मिडिया ब्रिफिङमा रुसले तयार गरेको खोपतर्फ संकेत गर्दै ‘भ्याक्सिन राष्ट्रवाद’ को खतराप्रति सचेत गराएका थिए । उनले कोरोना भाइरस संकटबाट पार पाउन विश्वव्यापी एकता धेरै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । डा. टेड्रोसले सदस्य राष्ट्रलाई पत्र लेखेरै ‘विश्वव्यापी भ्याक्सिन सुविधा, सीओभीएक्स’ मा सामेल हुन आग्रह गरेका थिए ।

यसबाट गरिब र धनी सबै मुलुकमा कम नकारात्मक प्रभाव पार्ने खोप सुनिश्चित गर्ने व्यवस्था गरिन्छ । उनले भनेका थिए, ‘उसो त नेताहरूको पहिलो इच्छा आफ्ना मानिसहरूलाई रक्षा गर्ने हो तर महामारीविरुद्ध कारबाही सामूहिक रूपमा गरिनुपर्छ ।’ उनले विश्वव्यापी रूपमा खोपको आपूर्ति गर्नु नै हरेक देशको राष्ट्रिय हितमा भएको बताए ।