करिब ३२ प्रतिशत मृत्यु कोरोनाजन्य जटिलताका कारण

जनस्वास्थ्यविद् भन्छन्– ‘विकसित देशहरु बढी उमेर समूहका व्यक्तिहरुलाई पनि बचाउन सफल भएका छन् । नेपालमा भने बचाउन सकिने उमेर समूहहरु पनि जोखिममा पर्ने खतरा छ ।

 हालसम्म मुलुकमा कोभिड–१९ कै कारणले भन्दा पनि अरू नै स्वास्थ्य समस्या भएकामा यसको संक्रमण हुँदा बढी मृत्यु भएको ठानिँदै आएकामा अब यो गलत सावित भएको छ । कोभिड–१९ बाट बुधबारसम्म मृत्यु भएका १ सय ७५ जनाको तथ्यांक केलाउँदा कोरोनाजन्य जटिलताकै कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

कोभिड–१९ सँग मात्रै सम्बन्धित जटिलताले देशभरमा ५६ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमशः पहिल्यै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, मुटु रोग र हाइपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृत्यु भएको छ ।

कोभिड–१९ का कारण मृत्यु पुष्टि भएकामध्ये करिब ३२ प्रतिशतको कोभिडसम्बद्ध कुनै न कुनै प्रकारको जटिलताले ज्यान गएको छ । बाँकीमा अरू स्वास्थ्य समस्या रहेको देखिन्छ । अन्य स्वास्थ्य समस्यासँगै निमोनिया भएका बिरामीको संख्या पनि बढी छ । अरू रोगसँगै निमोनिया देखिएका बिरामी करिब १७ प्रतिशत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षभन्दा माथिका ६८ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ज्यान गुमाएकामा ४१ देखि ६० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ७१ जनाको मृत्यु भएको छ । यो उमेर समूहमा पनि विभिन्न रोगका साथै केहीमा कोभिड–१९ सँग सम्बन्धित जटिलता मात्रै देखिएको थियो ।

१९ वर्षदेखि ४० वर्ष उमेर समूहका २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो उमेर समूहकामा भने प्रायः सबैमा कोभिड–१९ सँग सम्बन्धित जटिलता नै मृत्युको मुख्य कारण छ । यस्तै नवजात शिशुदेखि १८ वर्ष उमेर समूहका ७ जनाको मृत्यु भएको छ । यो उमेर समूहका अधिकांशलाई झाडापखालाको समस्या देखिएको थियो । म्याग्दीका ४९ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । ती बालकको मिर्गौलामा गम्भीर समस्या थियो ।

मन्त्रालयको तथ्यांकअनुसार कोभिड–१९ का कारण बुधबारसम्म काठमाडौं उपत्यकामा २२ जनाको मृत्यु भएको छ, जसमा १३ पुरुष र ९ महिला छन् । तीमध्ये ४ जनाको मात्रै कोभिड–१९ ले निम्त्याएको जटिलताले ज्यान गएको देखिन्छ । अन्यमध्ये ७ जनामा मिर्गौलाको समस्या थियो भने ७ जनालाई उच्च रक्तचाप थियो । बाँकीमा मुटु रोग र मधुमेहलगायत समस्या थियो ।

https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2020/miscellaneous/corona-data-2782020024856-1000x0.jpgमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पूर्ववत् स्वास्थ्य समस्या भएका तथा विभिन्न कारणले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई नै कोरोना संक्रमणले सबैभन्दा बढी असर गरेको छ । ‘बढी उमेर समूह, कमजोर स्वास्थ्य तथा रोग प्रतिरोधी क्षमता कम भएकालाई नै कोरोनाले बढी असर गर्छ भनेर विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ । नेपालमा पनि त्योभन्दा फरक अवस्था रहेको देखिँदैन,’ उनले भने, ‘त्यसैले हामीले समुदायमा रोग फैलन दिनु हुँदैन । समुदायमा गयो भने हताहती हुनेको संख्यामा वृद्धि हुने जोखिम रहन्छ ।’

जोन्स हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा. दिनेश न्यौपानेका अनुसार विश्वमा जस्तै नेपालमा पनि कुल मृत्युदर शून्य दशमलव ५ प्रतिशत छ । ‘केही समय अगाडि धेरैले नेपालीलाई केही हुँदैन, यहाँ विदेशमा जस्तो मान्छे मर्दैनन् भन्थे,’ उनले भने, ‘अब त्यो सबै गलत रहेछ भनेर देखिएको छ । विश्वको तथ्यांकले जे देखाएको छ, अहिले यहाँ त्यही देखिएको छ । डर त विश्वको त्यो तथ्यांकभन्दा बढीको मृत्यु हुन्छ कि भन्ने हो ।’

सरकारले कोरोनाको परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङमा यथोचित कार्य गर्न सकेको छैन । त्यसैले नेपालमा अहिले पनि कोरोनाको जोखिम घटेको छैन । ‘सरकार अघिअघि, कोरोना पछिपछि हुनुपर्ने हो । तर नेपालमा कोरोना अघिअघि, सरकार पछिपछि भइरहेको छ,’ उनले भने, ‘अझै पनि एक लाखभित्र नियन्त्रण गर्न सके धेरै हदसम्म हताहत हुनेको संख्यालाई कम गर्न सकिन्थ्यो । नत्र धेरै ठूलो क्षति नहोला भन्न सकिन्न ।’ डा. न्यौपानेका अनुसार विकसित देशहरू बढी उमेर समूहका व्यक्तिहरूलाई बचाउन सफल भएका छन् । नेपालमा भने स्रोत साधनको कमीका कारण बचाउन सकिने उमेर समूहकाहरू पनि जोखिममा पर्ने खतरा छ ।

जनस्वास्थ्यविद् डा. न्यौपानेका अनुसार रोग कति गम्भीर छ भनेर थाहा पाउन सीएफआर (केस फ्याटालिटी रेट) प्रयोग गरिन्छ । यो निश्चित समयभित्र सो रोगले मृत्यु भएका जम्मालाई जम्मा संक्रमितहरूको संख्याले भाग गरेर निकालिन्छ । कुनै रोगको वास्तविक सीएफआर त्यो रोग पूरा नियन्त्रणमा आएपछि मात्र निकाल्न सकिन्छ । कोभिडको सन्दर्भमा अहिले निकालिने सीएफआर प्रारम्भिक मात्रै हुन्छ । यो रोगको प्रकृतिले अहिलेसम्म निको भएका वा मृत्यु भएकाहरूलाई मात्र समावेश गरेर सीएफआर निकाल्नु सान्दर्भिक देखिन्छ । यसरी निकाल्दा संसारको कोभिड–१९ को सीएफआर करिब ४.७ प्रतिशत, अमेरिकाको करिब ५ प्रतिशत, भारतको करिब २.३५ प्रतिशत, श्रीलंकाको करिब ०.४ प्रतिशत र नेपालको करिब १ प्रतिशत हुन्छ । पछिल्ला केही महिनाको तथ्यांक मात्र लिने हो भने नेपालमा सीएफआर योभन्दा बढी देखिन्छ । ‘नेपालमा परीक्षणको सीमितताले सबै संक्रमितहरूको पहिचान हुन सकेको छैन । त्यसैले अहिले नै कोभिडको सीएफआर कम छ भनेर भन्ने बेला भएको छैन,’ डा. न्यौपानेले भने, ‘पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गइरहेकाले सीएफआर पनि वृद्धि हुने देखिन्छ ।’

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै ७१ जनाको प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ को पनि पर्सामा सबैभन्दा बढी ३१ जनाले ज्यान गुमाएका छन् । त्यही प्रदेशको धनुषामा १२ जनाको कोभिडका कारण मृत्यु भएको छ । पर्साको छिमेकी जिल्ला बारामा पनि १० जनाले ज्यान गुमाएका छन् । प्रदेश २ का अन्य जिल्लामा भने मृत्युको संख्या दोहोरो अंकमा छैन । कोरोनाले वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । नेपालमा सबैभन्दा पहिले वाग्मती प्रदेशकै सिन्धुपाल्चोककी एक महिलाको संक्रमणले ज्यान गएको थियो । वाग्मतीमा मृत्यु भएकामध्ये अधिकांश अस्पतालमा उपचाररत थिए । यो प्रदेशमा संक्रमित हुनेको कुल संख्या ५ हजार ४ सय ९४ रहेको छ भने निको हुनेको संख्या केवल ९ सय १९ छ । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ७५ छ ।

प्रदेश ५ मा २३ जनाले ज्यान गुमाएका छन् । यस प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ९ सय २२ छ । यो प्रदेशमा सबैभन्दा धेरै रूपन्देहीमा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १० जनाको ज्यान गएको छ । मुलुकमा सबैभन्दा पहिलोपटक दोस्रो स्तरको संक्रमण देखिए पनि यो प्रदेशमा धेरै हताहती भएका छैनन् । हाल यो प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार ६ सय ३१ रहेको छ । तीमध्ये ४ हजार ५ सय ९४ जना संक्रमण मुक्त भएको तथ्यांक छ । गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गण्डकीमा संक्रमितको संख्या २ हजार ६५ छ । कर्णालीमा २ हजार ४ सय २ जनालाई संक्रमण देखिएको छ जहाँ ४ जनाको मृत्यु भएको छ ।